जब्दिपुल पुन:निर्माण गर्न सांसद बिकको ध्यानाकर्षण



बर्दिया। प्रतिनिधी सभा सांसद एवं नेकपाकी नेता बिमला बिकले जब्दिपुलको पुनःनिर्माण गर्न सरकारसँग माग गरेकी छन्।


नव नियुक्त भौतिक पुर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ्लाई सिंहदरबार स्थित मन्त्रालयमा भेटेर सांसद बिकले उक्त पुलको पुन:निमार्ण गर्न ध्यानाकर्षण गराएकी हुन्।

पप्पु कन्स्ट्रक्सनले बर्दियास्थित बबई नदीको जब्दिघाटमा निर्माण गरेको पुल २०७३ साउनमा आएको बाढीले भासियो थियो।

हस्तान्तरण नहुँदै पुल भासिएपछि छानबिनका क्रममा निर्माण गुणस्तरहीन भएको पुष्टि भएको थियो। १६ करोड ६८ लाख ४ हजार रुपैयाँमा निर्माण गरिएको उक्त पुलले जिल्लाको सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्नेछ।

पप्पु कन्स्ट्रक्सनले २०६८ असार २५ देखि निर्माण थालेको थियो। डेढ वर्ष ढिला निर्माण सकिएको उक्त पुल ४ सय ३५ मिटर लामो छ।

पुल भत्किएको तीन वर्ष समय बित्दासमेत पुन: निर्माणको कार्य भएको छैन। ‘बाढीले पुल भत्कियो । ठेकेदारलाई कारबाही गर्न पटकपटक केन्द्रमा धायौं,’ सांसद बिक भनिन, ‘जति प्रयास गरे पनि सफल भएनौं। हार खायौं।’अब माननीय मन्त्री ज्युले पहल लिन अग्रह गर्दछु।”

ध्यानाकर्षण पत्रमा भनिएको छ,”भाचिएको पुलबाटै यात्रा गरेर बर्दियाका नागरिकले आफ्नो दैनिकी चलाईरहेका छन्। साथै जुनसुकै बेला अप्रिय घटना भई ठूलो धनजनको क्षति हुने जोखिम रहेको जानकारी गराईन्छ।”

निवर्तमान भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठले उक्त पुलको निरीक्षण गरेका थिए।

बर्दियालाी जनताको माझमा तुरुन्त पुलको पुन: निर्माण गरिने आश्वासन दिएका थिए। तर, मन्त्री महासेठ पदमुक्त भैइसक्दा पनि हालसम्म पुलको पुननिर्माणको कार्य अघि बढेको छैन।

बर्दियाली नागरिकको अत्यन्त आवश्यकता र जनजीवीकासँग जोडीएको उक्त पुलको निर्माण कार्य अविलम्ब प्रारम्भ गरि बर्दियाली नागरिकको भावना र आवश्यकताको सम्मान गर्न सांसद बिकको माग रहेको छ।

आवतजावत गर्नको लागि बैकल्पीक बाटोसमेत नभएकाले भाचिएको पुलबाटै जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको स्थानीयको गुनासो छ।