उत्पीडित समुदायको उत्थान र विकासको लागि काङ्ग्रेसले जित्नुपर्छ: नेता थापा



कौरव खत्री,
गुल्मी। नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता गगनकुमार थापाले पीछडिएको समाजको उत्थान र बिकासको लागि काङ्ग्रेसले चुनाव जित्नुपर्ने धारणा राखेका छन्।

नेपाली काँग्रेस बडिगाड २ ले दनियामा आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै नेता थापाले यस्तो बताएका हुन्।

पूर्व स्वास्थ्य मन्त्रीसमेत रहेका थापाले हालको सरकारले डरलाग्दा संकेतहरु देखाएको र ती संकेतहरुलाई अहिले नै नरोके देशमा डरैडरको भड्खालोमा जाकिने बताए।

हालको सरकारले धेरै अनुकुलता पाउँदा पनि दुई वर्षको अवधिमा केही गर्न नसकेको थापाको जिकिर छ। न त शान्ती प्रक्रियाको चिन्ता छ, न त संविधान बनाउने चिन्ता छ न त चुनाव बनाउने चिन्ता छ’ थापाले भने ‘सबै काम सकिएको यस्तो अवस्था आउँदा पनि कम्युनिष्ट सरकारले केही गर्न नसकेको आरोप लगाए।

त्यस्तै सीमा विवादको बिषयमा बोल्दै थापाले भारतले आफ्नो नक्सामा नेपालका भूभाग राखेको बिषयमा सरकार बोल्न डराएको आरोप लगाए। काँग्रेसले सरकारलाई पूर्ण रूपमा साथ दिने बताएको बेला पनि सरकारले केही गर्न नसकेको थापाको भनाई छ।

उनले वर्षैदेखि पछि परेको राना समुदायको उत्थानको निम्ती काँग्रेसले हाल बडिगाड दुइमा डिल बहादुर रानालाइ वडाध्यक्ष पदको उम्मेद्वार बनाएको भन्दै उनले राना समुहदायलाइ आएको यो अवसर नछुटाउन आग्रह गरे। अहिले पनि राना समुदायले यो अवसर गुमाए भने उनीहरु झन पछिपर्ने बताए।

सोही चुनावी आमसभामा बोल्दै उम्मेद्वार डिल बहादुर रानाले बर्षैदेखि पछि पारेको समुदायको उत्थान गर्ने गरी काँग्रेसले आफुलाई उम्मेद्वार बनाएको भन्दै पछि परेका हरेक समुदायको उत्थानको निम्ति आफुले काम गर्ने बताए।

त्यस्तै कार्यक्रममा नेपाली काँग्रेस बागलुङ्ग जिल्ला सदस्य गण्डकी थापा, जिल्ला सदस्य फम बहादुर खत्री, नेपाल विद्यार्थी संघ पुर्व केन्द्रीय उपाध्यक्ष डिल्लीराम सुवेदी, नेपाली काँग्रेस मुसिकोट नगर सचिव मोहन घिमिरेलेलगायतले काङ्ग्रेसलाई विजयी गराउन अनुरोध गरेका थिए।

काँग्रेस दगातुम्डाडा गाँउकार्य समितिका सभापति सुवेदार सत्न बहादुर क्षेत्रको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाली काँग्रेस बडिगाड गाँउपालिकाका सभापति अर्जुन खरेलको स्वागत मन्तव्यसँगै शुरु भएको कार्यक्रमको सञ्चालन भने सह­सचिव रन बहादुर भुजेलले गरेका थिए।