देउवा नेकपामाथि झन् आक्रमक: ‘नेपाली कम्युनिस्ट अराष्ट्रिय तत्व हुन्’



दाङ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गलत प्रचार र झुटको राजनीति नेपाली कम्युनिष्टको खेती भएको दावी गरेका छन्। सोमबार दाङको श्रीगाउँमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति देउवाले नेपाली कम्युनिस्टहरू झुटको खेती गर्न माहिर भएको टिप्पणी गरेको हुन्।

केही दिनअघि कास्कीको पोखरामा आयोजित चुनावी सभामा बोल्दै देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको सहमतिमा भारतले नेपाली सीमा मिचेको आरोप लगाएका थिए। देउवाको उक्त आरोपलाई खण्डन गर्दै नेकपाका नेता कार्यकर्ताले चर्को विरोध गरिरहेका छन्।

सभापति देउवाले पोखरामा प्रधानमन्त्री ओली भारतीय हस्तक्षेपका विरूद्धमा प्रभावकारी ढंङ्गले नबोलेको तर्फ इंगित गर्दै आफूले उक्त टिप्पणी गरेको बताए। देउवाले नक्कली राष्ट्रवादीहरूले देश र जनताको भविष्यमाथि खेलवाँड समेत नगर्न आग्रह गरे।

उनले नेपाली कम्युनिस्टहरू सिद्धान्ततः अराष्ट्रिय तत्व भएको आरोप लगाए। सभापति देउवाले कम्युनिष्टबाट नेपालको राष्ट्रियता कदापि बलियो नहुने दावी गरे। उनले भने,‘ गलत प्रचार र झुटको राजनीति नेपालका कम्युनिस्टको खेतीनै भएको छ। कम्युनिस्टहरुको असली रुप र चरीत्र नेपाली जनताले बुझिसकेका छन्।’

उनले अगाडि भने, ‘अब नक्कली राष्ट्रवादको आवरणमा नेपालको राष्ट्रिय स्वाभिमान र जनताको भबिस्यमाथिको खेलवाड बन्द गर। समुन्नत र सबल नेपालको निर्माण गर्न रुख चिन्हमा मतदान गरौं। गौरवमय इतिहास बोकेको नेपाली काँग्रेस नै रोजौं।’