ट्रायलमा फेल भएका १२ सय ८४ लाई लाइसेन्स



काठमाडौं। ट्रायलमा फेल भएकालाई लाइसेन्समा पास गरिएको समाचार पनि प्रकाशित छ। ट्रायलमा फेल भएका परीक्षार्थीलाई सवारीचालक अनुमति (लाइसेन्स) जारी गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय एकान्तकुनामा काम गरेका ३८ जना कर्मचारी विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारले उपसचिवदेखि खरिदारसम्मलाई भ्रष्टाचार मुद्दा दायर गरेको हो। ‘सवारीचालक अनुमतिपत्र कार्यालय, एकान्तकुनाले २०६९ साल बैशाख, जेठ र असारमा गरेको ट्रायल परीक्षामा फेल भएका परीक्षार्थीलाई पास गराएको भेटियो,’ अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीप कोइरालाले भने, ‘खोज्दै जादा १२ सय ८४ जना यसरी पास भएको खुल्यो।’ फेल भएकाहरुलाई पास बनाउने काममा संलग्नहरुलाई मुद्दा चलाएको उनले बताए।

यता, सरकारले अतिरिक्त शुल्क फिर्ता गर्न अटेर गर्ने मेडिकल कलेजका सञ्चालकहरूलाई ुठगी मुद्दाु अन्तर्गत कारबाही प्रक्रिया अघि बढाउने भएको समाचार छ। शिक्षामन्त्री गिरिराजमणि पोखरेलले आइतबार गृहमन्त्री रामबहादुर थापालाई भेटेर कलेज सञ्चालकहरूलाई जिल्ला प्रशासन कार्यालयहरूमार्फत कारबाही गर्नेबारे छलफल गरेका छन्।

विदेश भ्रमणबाट शुक्रबार फर्केका उनले आइतबार बिहानै गृहमन्त्रीलाई भेटेर कारबाही प्रक्रियाका विषयमा छलफल गरेका हुन्। ‘मेडिकल कलेजका सन्दर्भमा के-कसरी अघि बढ्न सकिन्छ भनेर गृहमन्त्रीसँग सल्लाह भयो,’ उनले भने। मन्त्री पोखरेलले मन्त्रालयका अधिकारीहरूसँग पनि अतिरिक्त शुल्कका विषयमा जानकारी लिएका छन्। यो समाचार कान्तिपुर दैनिकले छापेको छ।