काठमाडौँ। भारतले १३औं सागको पुरुष फुटबलमा प्रतिस्पर्धा नगर्ने भएको छ । यससँगै पुरुष फुटबलमा पाँच टिम मात्र भएको छ । महिला फुटबलमा खेलाडीको नाम दर्ता गरे पनि भारतले पुरुषतर्फ खेलाडीको सूची पठाएको थिएन ।
यसैबारे नेपाल ओलम्पिक कमिटीले इन्डियन ओलम्पिक संघ (आईओए) सँग जानकारी मागेको थियो र त्यसबारे आईओएकी निर्देशक ननजिमा खानले स्पष्ट जवाफ दिइन्, ‘पुरुष फुटबलमा भारती टिम सहभागी हुँदैन।’
अखिल नेपाल फुटबल संघ (एन्फा) ले १३औं सागमा फुटबलको ‘ड्र’ शुक्रबारै गरेको थियो । त्यसमा भारत, माल्दिभ्स र श्रीलंका समूह ‘बी’ मा परेको थियो । १२ औं सागको स्वर्ण पदक विजेता नेपालसहित बंगलादेश र भुटान समूह ‘ए’ मा छन् ।
नेपालले भारतलाई २–१ ले हराएर गुवहाटीमा भएको पछिल्लो सागमा स्वर्ण पदक जितेको थियो। तीनपल्ट स्वर्ण जितेको भारतले सन् १९९५ यता दक्षिण एसियाली खेलकुदमा सफलता दोहोर्याउन सकेको छैन।
सुरुबाट राष्ट्रिय टिम सहभागी भए पनि सागमा सन् २००४ देखि यू–२३ टिमले प्रतिस्पर्धा गर्छ । त्यसमा हरेक टिमले २३ वर्षमाथिका तीन खेलाडी समावेश गर्न पाउँछन्। ११ औं संस्करण (ढाका)बाट महिला फुटबलले सागमा प्रवेश पाएको हो र यसमा राष्ट्रिय टिमले प्रतिस्पर्धा गर्छन् । १३ औं सागको फुटबलमा महिलातर्फ ५ देशले राउन्ड रोबिन लिगको आधारमा पोखरामा प्रतिस्पर्धा गर्नेछन्।