जनमुक्ति सेना दिवसलाई जनार्दन शर्माले यसरी सम्झिए



काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता जनार्दन शर्मा ‘प्रभाकर’ ले जनयुद्धका सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै स्मरण गरेका छन्। जनमुक्ति सेना दिवसको अवसरमा उनले जनयुद्धका सहिदहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन्। प्रभाकर माओवादी जनयुद्धमा जनमुक्ति सेना नेपालका डेपुटी कमाण्डर हुन् ।

आइतबार विहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस पोष्ट गर्दै प्रभाकरले जनयुद्धको क्रममा आफ्नो युवा जोश जागरलाई पूर्ण रुपमा समर्पण गरी बलिदान गर्ने सहिदहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन् । जनयुद्धको क्रममा घाइते भएका, अपांग भएका र बेपत्ता पारिएकाहरुलाई समेत नेता शर्माले सम्झिएका छन् । सामाजिक सञ्जाल फेसबुकमा पुराना तस्विरसहित नेता शर्माले एक स्टाटस लेखेका छन्।

जनमुक्ति सेनाको त्याग र बलिदानबिना संघीय लोकतान्त्रिक गणतन्त्र सम्भव नभएको भन्दै नेता शर्माले कार्यान्वयनको चरणमा फेरि एउटा अभियान जरुरी रहेको समेत उल्लेख गरेका छन् ।

विस २०५८ साल मंसिर ८ गते तत्कालिन नेकपा मोओवादीले दाङको घोराहीस्थित नेपाली सेनाको ब्यारेमा हमला गरी औपचारिक रुपमा जनमुक्ति सेना नेपालको घोषणा गरेको थियो । सोही दिनलाई माओवादीले जनमुक्ति सेना स्थापना दिवसको रुपमा मनाउँदै आएको थियो ।