विभेदका विरूद्ध पत्रकारले सशक्त रूपमा कलम चलाउनु पर्छ: सांसद नेपाली



काठमाडौँ। प्रदेश नम्बर ३ कि प्रदेश सांसद एवं नेपाली कांग्रेसकी नेता कल्पना नेपालीले जातीय विभेद अन्त्यका लागि दलित पत्रकारले सशक्त रूपमा कलम चलाउनुपर्ने बताइन्।

आइतबार राजधानीको राष्ट्रिय महिला आयोगको सभाहलमा राष्ट्रिय दलित पत्रकार संघ, नेपाल, प्रदेश ३ को प्रथम भेला तथा अधिवेशनमा बोल्दै सांसद नेपालीले यस्तो बताएकी हुन्।

उनले भनिन्, ‘व्यक्ति, समाज र सिंगो राष्ट्र परिर्वतन गर्नमा पत्रकारको ठूलो भूमिका हुन्छ। फरक एक नागरिकले बोल्नु र पत्रकारले बोल्नुमा धेरै अन्तर हुन्छ। त्यसैले आफ्ना हकहित र पछि पारिएको समूदायको उत्थानको लागि निर्भिकताका साथ उभिन पत्रकार साथीहरूलाई आग्रह गर्दछु।’

सांसद नेपालीले दलितभित्रको आन्तरिक समस्या हल गर्दै अघि बढ्नुपर्नेमा जोडदिँदै भनिन्, ‘म दमाईको छोरी हो। कल्पना नेपाली मेरो परिचित नाम हो। हाम्रो समूदायभित्र पनि उत्कृष्ट क्षमता भएका व्यक्तिहरू छन्। मलाई गर्वबोध हुन्छ। हामीले अधिकारसँगै कर्तव्यवान बन्नुपर्छ र कोहीभन्दा कोही कम छैन भन्ने प्रमाण दिनुपर्छ।’

दलितभित्रका भिन्नताको अन्त्य गर्नको लागि दलित पत्ररकारले कलम चलाउन अनुरोध गर्दै सांसद नेपालीले हरेक दलित नागरिकले आफ्नो क्षमता अभिबृद्धि गर्दै बलियो परिचय बनाउनुपर्नेमा जोडदिइन्।