मेडिकल कलेजको षडयन्त्र र दमनविरुद्ध अनेरास्ववियू



काठमाडौँ। मेडिकल कलेज सञ्चालकहरूको षडयन्त्र र दमनका विरुद्ध अनेरास्ववियू सडकमा उत्रिएको छ। विभिन्न मेडिकल कलेजले विद्यार्थीमाथि दूर्व्यवहार गर्ने दमन गर्नेक्रम बढेपछि अनेरास्ववियूलले विज्ञप्ति नै जारी गरे सडकमा उत्रने घोषणा गरेको हो।

अनेरास्वविूयका संयोजक ऐन महर र सहसंयोजक रञ्जित तामाङले विज्ञप्ति मार्फत तोकिएको भन्दा शुल्क लिने कलेज सञ्चालकहरुलाई गिरफ्तार गरी कारबाही अगाडी बढाउन सरकारलाई आग्रह गरेका छन्।

यस्तो छ अनेरास्ववियूको विज्ञप्ति

मेडिकल शिक्षाको क्षेत्रमा देखिएका विसंगति, शुल्क, छात्रवृत्ती लगायतका समस्याका विषयमा हाम्रो संगठनको पटक– पटकको ध्यानाकर्षण र आन्दोलन पछि मेडिकल कलेज सञ्चालक, विश्वविद्यालय र सरकार सँग विभिन्न सहमति र सम्झौताहरु भएका थिए। सोहि सम्झौताको कार्यान्वयन हुन नसक्दा हामिले सरोकारवाला निकायलाई पटक–पटक घच्घचाएका थियौं। हाम्रो दबाव स्वरुप सरकारले मेडिकल कलेजलाई सरकारले निर्धारण गरेको शुल्क कार्यान्वयन गर्न बढी लिएको शुल्क समायोजन र फिर्ता गर्न १ महिने अल्टिमेटम दिएको थियो। सो समय सकिए पछि पनि समस्याको दिर्घकालिन समाधान खोज्न र शान्तिपूर्ण शैक्षिक वातावरण निर्माणका लागि पून १५ दिने म्याद मेडिकल कलेजलाई दिएको कुरा जग जाहेर छ।

पटक–पटक मेडिकल कलेजहरुबाट धोका पाएका विद्यार्थीहरुले निर्धारित समयभित्र शुल्क कार्यान्वयन, समायोजन र फिर्ताको माहोल निर्माण गर्न दवाव स्वरुप शान्तिपूर्ण धर्नाका कार्यक्रमहरु सञ्चाल गर्दै गर्दा निजि मेडिकल कलेज सञ्चालक संघका अध्यक्ष समेत रहेका बसुरिदिन अन्सारीको नेशनल मेडिकल कलेज विरगञ्जका विद्यार्थीहरुमाथी प्रशासनबाट हातपात गरिएको, होस्टलमा बस्न रोक लगाइएको घटना प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ।

यसै गरि यूनिभर्सल मेडिकल कलेज, गण्डकी मेडिकल कलेज, चितवन मेडिकल कलेजमा आन्दोलनरत विद्यार्थीहरुमाथि गरिएको दमन, षडयन्त्र र ज्यान मार्ने सम्मका धम्किहरुले हामिलाई थप आक्रोशित बनाएको छ। हामी शान्तिपूर्ण आन्दोलन र धर्नामा रहेका विद्यार्थीहरुलाई होस्टलमा बस्ने र जीवनको शुरक्षाको प्रवन्ध मिलाउन प्रशासनलाई सचेत गराउँदछौं। सरकारले उदारतापूर्वक पछिल्लो पटक दिएको १५ दिनको समय सिमा भित्र शुल्क कार्यान्वयन र समायोजन गर्न हामी पून मेडिकल कलेजहरुलाई आग्रह गर्दछौँ।

निर्धारित समय भित्र सहमतिको कार्यान्वयन नगरिए मेडिकल कलेजहरुको एफिलेशन खारेज गर्न, अध्ययनरत विद्यार्थीहरुको व्यवस्थापन गर्न, निर्धारितभन्दा बढी शुल्क लिने कलेज सञ्चालकहरुलाई गिरफ्तार गरी कारबाही अगाडी बढाउन सरकारलाई आग्रह गर्दछौं। अन्यथा अनेरास्ववियू कडा आन्दोलनमा उत्रन बाध्य हुनेछ।

निरन्तर खबरदारी र दबाव बढाउ मेडिकल कलेजका विद्यार्थीहलाई अपिल गर्दै मेडिकल कलेज सञ्चालकहरुको षडयन्त्र र दमनका विरुद्ध आज दिउँसो १ बजे नेशनल मेडिकल कलेज अगाडी हुने वृहत विरोध प्रदर्शन कार्यक्रममा सहभागि हुन पनि विद्यार्थी साथीहरुलाई अपिल गर्दछौं। साथै गण्डकी, यूनिभर्सल र चितवन मेडिकल कलेजमा भइरहेका प्रदर्शन प्रति हार्दिक ऐक्यबद्वता।