कर्णालीको विकास एकता र प्रतिद्धतामा निर्भर: मुख्यमन्त्री शाही



सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशको विकास सबैको एकता र मेलमिलापमा निर्भर रहने बताएका छन्।

रिपोर्टर्स क्लब नेपाल, कर्णाली प्रदेशको प्रथम अधिवेशन तथा अन्तरक्रिया कार्यक्रमलाई सोम्बोधन गर्ने क्रममा मुख्यमन्त्री शाहीले यस्तो बताएका हुन्।

केही दिनअघि मात्रै मुख्यमन्त्री शाहीको विरूद्धमा अविस्वासको प्रस्ताव लिन लागिएको भन्दै समाचार बाहिरिएका थिए। आजको कार्यक्रममा शाहीले पदको लागि भन्दा पनि प्रदेशको विकासको लागि एकतावद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिएका हुन्।

मुख्यमन्त्री शाहीले कर्णालीलाई दिगो विकासको गतिमा लैजानको लागि कर्णालीबासीको एकता र प्रतिद्धता चाहिने बताए। उनले स्थानीय स्रोत साधनको उचित प्रयोग गर्नुपर्नेमा समेत जोड दिए।

उनले भने, ‘दिगो विकासका लागि कसरी सोच्ने ? दिगो विकासका स्रोत साधन पत्ता लगाएर मात्रै यस प्रदेशको विकास सम्भव छ। हामीले वजेट तर्जुमा गरेका छौं। यसलाई उचित रूपमा प्रयोग गर्नु पर्नेछ। स्थानीय साधान स्रोतको आधारमा अघि बढ्नुको विकल्प छैन। मैले कर्णाली प्रदेश स्रोत साधनको ठूलो भण्डार हो भनेर धेरै ठाउँमा भनेको छु। बरू हामीले पर्यटन क्षेत्रमा मुख्यगरी ध्यान दिनुपर्ने देखिन्छ। म आग्रह गर्दछु, कर्णालीमा घुम्न आउने पर्यटकलाई न्यानो माया आतिथ्यतासँगै भोक लाग्दा खाने कुरा र बस्नका लागि बासको राम्रो वातावरण र्सिजना गर्नुहोस्। भ्रमण वर्ष २०२०लाई सफल पार्नको लागि सबैले हातेमालो गर्नुपर्छ।’

त्यस्तै मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशका पत्रकारहरूलाई राजनीतिमात्रै नभएर अन्य स्रोत साधन र सम्भावनाका क्षेत्रमासमेत कलम चलाउन अनुरोध गरेका छन्।

उनले भने,‘भ्रष्टाचार, विभेदको अन्त्यका निम्ति र सुशासनका निम्ति पत्रकारले भूमिका खेल्नुपर्छ। समाजमा रहेका विकृतिको अन्त्यका मिडियाको भूमिका महत्वपूर्ण रहन्छ। राजनीति र समाजलाई सहि बाटोमा हिड्नको लागि पनि मिडियाले प्रभावकारी भूमिका खेलेको हुन्छ। कर्णाली प्रदेश प्रचुर सम्भावना रहेको प्रदेश हो। यसलाई उपभोग गर्नको लागि सबैको उचित भूमिका रहनुपर्छ।’