सीमा विवाद: भारतले छर्‍यो अर्को भ्रम, नेपालमा बनाइयो आधिकारिक नक्सा



काठमाडौँ। नेपालमा चर्को विवाद भएपछि भारतले नक्सा तत्काल संशोधन गर्दै अर्को भ्रम छरेको छ। कात्तिक १५ गते जारी नक्सामा काली नदी भारतमा प्रस्ट देखिएपछि विवाद बढेको थियो। यो साता बनाएको अर्को नक्सामा काली नदी त्यहीँ छ, मात्र नाम झिकिएको छ।

जम्मु कश्मीरलाई दुई प्रान्तमा विभाजन गरेपछि जारी नक्सामा भारतले काली नदीलाई पुरानै स्थानमा राखेको थियो। लिम्पियाधुरालाई काली नदी मुहान स्वीकार गरेको थियो।

सर्भे अफ इन्डियाले तीन साता नबित्दै नवौं संस्करणको नक्सा बाहिर ल्याएको हो। भारतले नक्सालाई उलटपुलट पार्दै नेपाली भूमि अतिक्रमण गरेको छ। सुगौली सन्धिमा नेपालको पश्चिमी सीमा काली नदी स्पष्ट छ।

त्यस्तै नागरिक दैनिकका अनुसार कोशी नदीले १२ वर्षदेखि भत्काएका नेपाल–भारत सीमास्तम्भ अझै निर्माण हुन सकेका छैनन्। कोशीले नेपाल–भारत सीमा छुट्ट्याउन सुनसरी क्षेत्रमा गाडिएका २३ सीमास्तम्भ भत्काएको थियो। सीमास्तम्भ नबन्दा दशगजा क्षेत्रमा अतिक्रमण बढ्दै छ।

कान्तिपुर दैनिकाका अनुसार भारतको नयाँ नक्साप्रति औपचारिक विरोध गर्दै नेपालले कूटनीतिक नोट पठाएको छ। भारतले कालापानी, लिपुलेकलगात भूभागलाई समेटेर नयाँ राजनीतिक नक्सा जारी गरेको तीन सातापछि नेपालले औपचारिक रुपमा विरोध जनाएको छ।

नेपालले बिहीबार नयाँ नक्साविरुद्ध ‘कूटनीतिक नेट’ पठाएर भारतसमक्ष विरोध जनाएको हो। भारतको गृह मन्त्रालयले नोभेम्बर २ मा कालापानी, लिपुलेकलगायत नेपाली भूभागलाई आफ्नो सीमाभित्र राखेर नक्सा जारी गरेको थियो।