कर्णाली प्रदेशका कर्मचारीलाई वर्गीकरण गरिने



सुर्खेत। कर्णाली प्रदेश सरकारले प्रदेशमा काम गर्ने कर्मचारीलाई वर्गीकरण गर्ने भएको छ।

प्रदेश सरकार कर्णालीमा कर्मचारी बस्न नमान्ने भएकोले निश्चित मापदण्डका आधारमा क, ख, ग र घ बर्गमा वर्गीकरण गर्ने तयारी थालेको हो।

साथै थप सेवा सुबिधा दिने तयारी गरिएको मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जानकारी दिएका छन्।

मुख्यमन्त्री शाहीले शुक्रबार भौतिक पूर्वाधार विकास मन्त्रालयको प्रथम चौमासिक प्रगति समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै योजना कार्यान्वयन र बजेट खर्चलाई तीव्रता दिन कर्मचारीलाई निर्देशनसमेत दिएका छन्।

भौतिक पूर्वाधार विकासमन्त्रीको समेत जिम्मेवारी सम्हालिरहेका मुख्यन्त्री शाहीले मन्त्रालय मातहतका निर्देशनालय तथा जिल्ला कार्यालयका कर्मचारीहरुलाई निर्देशन दिदै भने- ‘कागजमा समय खेर फाल्ने भन्दा परिणाममुखी काम गर्नुस।’

उनले विधि प्रक्रियाको नाममा योजना कार्यन्वयनलाई ढिला गर्ने, काम रोक्ने, टेवलमै काम अल्झाउने प्रवृत्ति सह्य नहुने बताए।

भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेट कार्यान्वयनले नै समग्र प्रदेश सरकारको प्रभावकारिता निर्धारण हुने भन्दै मुख्यमन्त्री शाहीले विगत वर्षबाट पाठ सिकेर बजेट कार्यान्वयनको गतिलाई बढाउनुपर्ने बताए।

मन्त्रालय मातहतका कार्यालयलाई समय तालिका तय गरेर काम गर्न निर्देशन दिदै मुख्यमन्त्री शाहीले समयतालिका बमोजिम काम भए नभएको मन्त्रालयले अनुगमन गर्ने बताए।