मप विश्वविद्यालयमा कार्यरत वा कर्णालीको स्थानीयलाई भीसी चयन गर्न समितिको माग



सुर्खेत। मध्यपश्चिम विश्वविद्यालय विद्यार्थी सरोकार समिति सुर्खेतले मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा कर्णाली प्रदेशको स्थानीय व्यक्तिलाई उपकुलपति नियुक्ति गरिनु पर्ने माग गरेकाे छ।

आज बिहिबार एक विज्ञप्चित जारी गर्दै सरोकार समितिले कर्णाली प्रदेशका प्राज्ञिक व्यक्तिहरू माथि अन्याय गरिए चुप लागेर नबस्ने चेतावनी दिएकाे छ। विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो पसिना र रगतसँग साटिएको यस विश्वविद्यालयमा हाम्रै कर्णाली निवासी वा मप विश्वविद्यालयमा कार्यरत प्राज्ञिक व्यक्तिबाट उपकुलपति नियुक्ति गरी संघीयताको मुल मान्यतालाई व्यवहारिकता दिन माग गर्दछौं। यस कर्णाली प्रदेशका आम जनसमुदायको चाहना र भावनाको सम्बोधन गर्नका निमित्त उपकुपति मार्फत नेपाल सरकारका प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओली समक्ष जोडदार माग गर्दछौं।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘अन्यथा आईपर्ने परिस्थितिको जिम्मेवार सम्बन्धित पक्ष नै हुने कुरा जानकारी गराउँदछौं। साथै हामी थप आन्दोलनका कार्यक्रमसमेत घोषणा गर्न बाध्य हुनेछौं।’

समितिका संयोजक राज पौडेलले कर्णाली प्रदेशका प्राज्ञिक व्यक्तिमाथि संघीय सरकारले अन्याय गरेको आरोप लगाएका छन्। उनले कर्णाली सन्देशसँग भने, ‘संघीय सरकार प्रदेशलाई अन्यायमा पार्ने काममा व्यस्त देखिन्छ। प्रदेश प्रमुख पनि बाहिरको मानिसलाई बनाईयो भने हामी चुप लागेर बस्दैनाै‌। फेरी मप विश्वविद्यालयको उपकुल पनि बाहिरको नियक्ति गर्ने षड्यन्त्र हुँदैछ। विज्ञताको कार्ड देखाएर कर्णाली प्रदेश निवासी प्राज्ञिक व्यक्तित्वहरूमाथि अन्नयाय गरिए शसक्त प्रतिवाद गर्नेछौं।’

विज्ञप्ति