काठमाडौँ। नेपाली कम्युनिष्ट आन्दोलनका एक हस्ति हुन् घनश्याम भुसाल। भुसाल माक्र्सवादका नेपाली ज्ञाता पनि हुन्। आफ्नै पार्टीको सरकार र नेतृत्वको खुलेर आलोचना गर्ने नेता भुसालले अन्ततः मन्त्री बन्न पुगेका छन्।
मन्त्री बनेसँगै भुसालको अग्निपरिक्षा सुरू भएको छ। बौद्धिक बहस र रचनात्मक आलोचना गर्नु र कार्यकारी पदमा रहेर काम गर्नुमा केही फरक त हुन्छ नै। तर, यसलाई भुसालले सहज तरिकाले नेतृत्व प्रधान गर्न सक्नु पर्ने हुन्छ।
४ मंसिर २०७६ बुधबार नेकपाका अध्यक्षसमेत रहेका प्रधनमन्त्री केपी शर्मा ओेलीले मन्त्री मण्डल परिर्वतन गरेका छन्। पुनर्गठनमा परेका मन्त्रीहरुमध्ये चर्चा, चासो र अपेक्षा गरिएका नेतामा गनिन्छन् भुसाल।
बौद्धिकता र तर्कका हिसाबले मात्रै होइन, योजना निर्माणमा पनि उत्तिकै दक्ष मानिने भुसाल नेकपाभित्र वरिष्ठ नेता माधवकुमार नेपाल टिमका नेता हुन्। भुसालले नेकपा पार्टीको एक वर्ग र समुहको नेतृत्वसमेत गरिरहेका छन्। खासगरी नेता भुसाल वर्तमान अवस्थामा दलालपूँजीवादले बजार अर्थतन्त्रलाई असर पारेको तर्क गर्छन्। उनी उत्पादनमा जोड दिनुपर्छ भन्दै आएका नेता पनि हुन्।
संसदीय राजनीतिका कारण समाजमा विकृति फैलिएको भन्दै यसलाई सुधार गर्नुपर्ने भुसालको मुख्य जोड छ। भुसालले कृषि क्रान्तिको वकालतसमेत गर्ने नेता हुन्। उनको विचार र योजना साकार पार्ने अवसर प्राप्त गरेका छन्।
‘पूँजीवादको घोडा चढेर समाजवादमा पुगिँदैन’ भन्ने विचार राख्ने नेता भुसालको लागि मन्त्री पद अवसर चुनौती दुवै हो। चर्को आलोचना गरिरहेको विषय पूँजीवादको घोडालाई समाजवादको दिशातिर मोड्न सक्नुपर्ने चुनौती छ।
उनले सार्वजनिक कार्यक्रमहरुमै हाल शिरदेखि पाउँसम्मै अंगालिएको ‘संसदीय व्यवस्थाले पुँजीपति वर्गको मात्रै हित गर्ने भएकाले सुशासनको संस्कृति विकासभन्दा विकृति निम्त्याउने’ बताउँदै आएका छन्। त्यसैले उनले भन्ने गरेका छन्, ‘पुँजीवादी क्रान्ति सकियो अब समाजवादमै केन्द्रीत हुनुपर्छ।’
त्यस्तै आफूलाई क्रान्तिकारी हुँ भन्ने नेताहरूसमेत पुजीवादी बन्दै गएको तथा घर, बङ्गला, गाडी र शानसौकातमा डुब्दै गएकोमा भुसालले बारम्बार सार्वजनिक मञ्चहरु तथा मिडियामा चिन्ता प्रकट गर्ने गरेका छन्।
गत बैशाख महिनामा आफ्नो दलका शीर्ष नेताहरु नै सहभागी भएको एक कार्यक्रममा भुसालले नेताहरुप्रति नै व्याङ्ग्य गरेका थिए । उनले भनेका थिए, ‘दिनमा सयजना भन्दा बढी गलत मान्छेसँग भेट हुन्छ। तस्कर, माफिया भ्रष्टाचारीसँग धेरै हिमचिम हुन्छ, अनि हामी कसरी ठिक बाटोमा जान्छौँ रु त्यसैले हामी आफै ठक्कर खान्छौँ।’
गत वैशाखमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अर्का नेता झलनाथ खनालकै सामु नेता भुसालले सुरुमा क्रान्तिकै लागि सोचे पनि नेताहरुमा विस्तारै क्रान्तिकारीता हराउँदै गएको खरो टिप्पणी गरेका थिए।