‘सीमा बिबादबारे प्रधानमन्त्रीले मिडिया खपतका लागि बोले’



काठमाडौँ। नेपाली काँग्रेसले भारतसँगको सीमा बिबाद समाधान गर्न सरकारले प्रभावकारी पहल नगरेको आरोप लगाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँगको सीमा बिबादबारे ‘मिडिया खपतका लागि मात्रै बोलेको’ आरोप लगाउँदै कांग्रेसले व्यवहारमा समस्या समाधानका लागि कुनै पहल नगरेको आरोप लगाएको हो।

मंगलबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सीमा बिबाद नयाँ समस्या नभएको बताउँदै अहिले थप पेचिलो बनेको बताए। उनले उहि बेला समाधानका लागि सरकारलाई काँग्रेसलगायत सबै दलले साथ दिए पनि प्रधानमन्त्रीले मिडिया खपतका लागि मात्रै बोलेको आरोप लगाए।

दुई दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीले नक्सा त छापाखानामा छपाउन सकिने बताउादै गुमेको जमिन फिर्ता गर्नको लागि पहल भइरहेको जानकारी दिएका थिए। साथै उनले नेपालको भूमि कालापानी क्षेत्रमा राखेको सेना फिर्ता लैजान पनि भारतलाई आग्रह गरेका थिए। भारतले केही दिन अगाडि आफ्नो राजनीतिक नक्सामा नेपाली भूमि समावेश गरेपछि नेपालमा भारत विरोधि आन्दोलन भइरहेका छन्।