‘हामी युवा सीमा रक्षाका निम्ति सहिद बन्न तयार छौं’


काठमाडौं। अनेरास्ववियूका नेता एवं स्वतन्त्र विद्यार्थी युनियन (आरआर) क्याम्पसका सभापति तपेन्द्रजंग शाहीले देशको रक्षाका लागि नेपाली युवाहरू बलभद्र, अमरसिंह र भक्तिथापा बन्न तयार रहेको स्पष्ट पारेका छन्।

सोमबार राजधानीको प्रदर्शनिमार्ग स्थित स्वतन्त्र विद्यार्थी यूनियन (आरआर) क्याम्पसद्वारा आयोजित ‘सीमा अतिक्रमणः विगत, वर्तमान र राष्ट्रिय सरोकार’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता शाहीले यस्तो बताएका हुन्।

उनले भने,‘राष्ट्र, राष्ट्रियता र जनजीविकाप्रति अनेरास्वयू संवेदनशिल छ। हिजोदेखि आजसम्मका परिवर्तनहरूलाई हेर्ने हो भने नेपाली विद्यार्थी आन्दोलनको बेग्लै गरिमा छ। आजको दिनमा पनि नेपाली युवाहरू छिमेकीको दमन, अत्याचार र विस्तारवादी नीतिलाई टुलुटुल हेरेर बस्न सक्दैनन्। बरू वीर सहिद बलभद्र भन्न तयार छन्। अमसिंह र भक्ति थापा बन्न तयार छन्। छिमेकी यो कुरो बुझ्नु पर्छ। सानो देश भनेर हेप्ने पाईंदैन। सीमा मिच्न पाईंदैन।’

छिमेकीसँगको सम्बन्धलाई सुमधुर बनाउने पर्ने धारणा राख्दै सभापति शाहीले भने,‘हामी छिमेकीसँग असल सम्बन्ध राख्न चाहन्छौं। तर, छिमेकीले हेप्ने काम गर्छ भने त्यसको प्रतिकार गर्न अनेरास्ववियू तयार छ। यसको ज्वलन्त उदाहरण हालै अनेरास्ववियूले इलामको सन्दकपुरमा देखाइ सकेको छ।’

उनले अगाडि भने,‘हाम्रा प्रधानमन्त्रीले जे कुरा बोल्नु भएको छ। त्यो कुरा सान्दर्भिक र समयको माग हो। आज नक्सा त छापाखानामा छापे भइहाल्छ नि, सीमाना फिर्ता ल्याउने कुरा र भारतीय सेनालाई हटाउने कुरा गर्नु भएको छ। प्रधानमन्त्रीले बोल्नु भएका कुराहरू व्यवहारमा लागू हुनुपर्छ।’

उक्त अन्तरक्रिया कार्यक्रममा प्रमुख वक्ताका रूपमा नेकपाका प्रभावशाली नेता भीम रावल, कांग्रेसको प्रभावशाली नेता चन्द्र भण्डारी, नेकपाका युवा नेता ठाकुर गैरे, लेखनाथ न्यौपाने, सीमाविद् हिरण्ड्यलाल श्रेष्ठ, भूगोलविद प्रा.डा.हृदयलाल कोइराला र अनेरास्ववियूका संयोजक ऐन महरलगायतको उपस्थिति रहेको थियाे।

कार्यक्रममा बोल्ने वक्ताले भारत र चीनसँग समानताको आधारमा मित्रवत सम्बन्ध राख्न सक्नुपर्नेमा जोड दिँदै सुगौली सन्धिदेखि आजका दिनसम्म मिचिएका सीमा, असमान सन्धि खारेज हुनुपर्ने माग गरको थिए।