काठमाडौँ। नेपाली कांग्रेसका प्रभावशाली नेता डा.चन्द्र भण्डारीले भारत र चीनलाई गालि गर्नुभन्दा पहिले आफ्नो अवस्थालाई मजबुत बनाउनु पर्ने सुझाव दिएका छन्।
सोमबार राजधानीको प्रदर्शनिमार्ग स्थित स्वतन्त्र विद्यार्थी यूनियन (आरआर) क्याम्पसद्वारा आयोजित ‘सीमा अतिक्रमणः विगत, वर्तमान र राष्ट्रिय सरोकार’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता भण्डारीले यस्तो सुझाव दिएका छन्।
नेता भण्डारीले अरूलाई औला ठड्याउनुभन्दा पहिले आफ्नो अवस्थालाई ध्यानमा राख्नुपर्ने बताए। उनले भने,‘आज देशमा सीमा विवादलाई लिएर भारत र चीनको विरूद्धमा आवाज उठिरहेका छन्। यो जायज छ। तर, हाम्रो साशन प्रणाली र हाम्रा साशकहरू, हाम्रा नेताहरूको अवस्था ठिक छ कि छैन ? यसका बारेमा युवाहरूले बुझ्न पर्छ कि पर्दैन? यो महत्वपूर्ण कुरा हो।’
स्ववियु सभापति तपेन्द्रजंग शाहीको अध्यक्षतामा आयोजित कार्यक्रममा नेता भण्डारीले देशमा अनेकन समस्या रहेको र यसको निराकण गर्नुपर्ने बेला भएको दावी गरे।
उनले भने, ‘यहाँ युवाहरूलाई कांग्रेस, कम्युनिष्ट र अन्य केही दलको रसिद थमाइन्छ। अनि कार्यकर्तालाई आफ्नो नेता कसको चाकडी गर्छ? कसको दलाली गर्छ? थाह हुँदैन। अहिलेका पुस्ताले गर्नुपर्ने काम के हो ? कुनै पनि युवाले पहिले देश, त्यसपछि विचार अनि मात्रै पार्टीलाई प्राथमिकता दिनुपर्छ। विचार र पार्टीलाई नेतृत्व प्रदान गर्ने जिम्मा नेताको हो। नेता चौथो स्थानमा राख्नुपर्छ। यहाँ त मेरो नेता, तिम्रो नेता भन्या छ। झगडा गरेको छ। यो वर्तमान नेपालको चित्र हो। हामीले समयमै सोच्न सकेनौं भने दलालहरूले, डाँकाहरूले र चोरहरूले हामीमाथि साशन गर्छन्। यसरी नै लुटेर खान्छन्।’
भिडियो हेर्नुहोस्
तत्तकालिन सभामुख सुवासचन्द्र नेम्वाङले संसदमा नाकाबन्दीको बारेमा छलफलसमेत नगरेको स्मरण गराउँदै नेता भण्डारीले भने, ‘सुवासजीले आफ्नो राजनीतक यात्रा सीमा मिचिएको विरूद्धमा भएको हो भन्नु हुन्छ। तर, बिडम्बना नेपालमा नाकाबन्दी हुँदा भारतको संसदमा छलफल हुन्थ्यो। नेपालको संसदमा कुनै छलफल भएन। यहाँ छिमेकी रिसाउछ भन्ने डर मान्ने नेता छन्। कसरी हुन्छ देशको रक्षा ? सेना ठेकदार बनाउनलाई गठन गरिएको हो ? नेतालाई सलामी दिनलाई हो ? सीमा मिचिदा सीमानामा उभिनुपर्दैन? संसदमा पुगेकाहरूले देश र जनताको बारेमा इमान्दार भएर बोल्नुपर्दैन? यस्ता मानिसलाई वीर गोरखाली भन्नुपर्ने ? यि वीर गोरखाली होइनन्, यस्ता मानिस त ठग नेपाली हुन्।’
देशको अवस्थाका बारेमा वर्तमान र पूर्वप्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताउँदै नेता भण्डारीले नामै तोकेर आलोचना गरेका छन्। उनले कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रचण्ड, बाबुराम, माधव नेपाल, झलनाथ खनाललाई आफ्नो कार्यकालमा भएका गल्तिहरूका बारेमा स्मरण गर्न र जवाफ दिन आग्रह गरे।
उनले भने, ‘हाम्रा नेताहरू पद भनेपछि जे सुकै गर्न तयार छन्। अमेरिकामा जम्मा दुईपटकभन्दा बढी कार्यकारी पदमा पुग्न पाईंदैन। हामीले २००७ सालदेखिका अनुहार हेरेर बस्नुपर्ने? यहाँ हेर्नुस् त कसैको बोली बुझिदैन। कोही बिरामी छन्। अझैं पनि उनीहरू देश चलाउछु भन्छन्। देश त के घर पनि चल्दैन। देश चलाउने कुरा गर्ने ? दुनियाँ कहाँ पुगिसक्यो। अन्यदेशमा ४० वर्षका मानिसले देशको बागडोर हातमा लिएका छन्। हाम्रो देशको अवस्था यो छ।’
आमुल परिर्वतन र देशको लागि काम गर्न नेतृत्व असफल भएको टिप्पणी गर्दै नेता भण्डारीले भने, ‘हाम्रो देशमा जन्मेर हो। अन्त देशमा जन्मिएको भए हाम्रा नेताहरूलाई साधारण सदस्य समेत दिने थिएनन्। साधारण सदस्य दिन लायक नभएका नेताहरूले आजका युवालाई सदस्यता प्रदान गर्छन्। एक आपसमा लडाउछन्, मराउछन्। नेताका छोराछारी बिदेश पढ्छन्। उनीहरू आफू नेता बन्छन्। देश र जनता कुनै प्राथमिकतामा राखेका छैनन्। राजनीतिमा इमान्दारिता चाहिन्छ, त्यो उनीहरूसँग छैन्। कसरी देश र जनताको हितमा काम गर्छन्?’
कार्यक्रममा नेता भण्डारीले चीनको रणनीति ‘साइलेन्स’ र भारतको रणनीति भुस्याह कुकुरको जस्तै भएको टिप्पणी गरेका छन्। उनले चीनले के गरेको छ ? थाह नहुने र भारतले जे सुकैमा हात हालेर आफ्नो दुस्मनी बढाएको जिकिर गरे।
नेता भण्डारीले फरक प्रसँगमा भने,‘यहाँ एउटा रोशनीले भन्दा सभामुख जस्तो मानिस जेलमा जानुपर्छ। तर, जनताले सारदा प्रसादले समयमै सडक बनाएन, दुःख दियो भनेर सडक फोटो टाँस्दा पनि ठूला नेताको नजिकको हो भनेर नमस्कार गर्नुपर्ने? समातेर जेल हाल्नु पर्दैन ? उसमाथि अनुसन्धान हुनुपर्दैन? हिजो अरूले गरेन, आज ओलीले बोले भन्दै उफ्रिन पाइन्छ? दुई तिहाईको सरकारले नगरे कसले गर्छ? हिजो घुष खाएकाहरू र आज अपराधलाई संरक्षण गरिरहेकाहरूलाई जेल हाल, अनि पो जनताले मान्छन्। कसैलाई मालिक बनाउनका लागि संविधान बनाएको हो? दलाली गर्नलाई बनाएको हो ? व्यक्तिगत लाभमा प्रयोग गर्न जनताले कर तिरेका हुन्?’
उनले अगाडि भने, ‘सिंहदरवारको अधिकार गाउँमा पठाउन र जनतालाई सम्पन्न बनाउनका लागि संविधान बनाइएको हो। यहाँ त नेतालाई धनी बनाउनको लागि संघीयता, समावेशिता र संविधान बनाएको जस्तो भएको छ।!
नेता भण्डारीले विकासको प्रसँग उल्लेख गर्दै नेपालमा भूबनोटलाई अध्ययन नगरिकन सडक निमार्ण भइरहेकोमा चिन्ता प्रकट गरेका छन्। उनले भने,‘सरकार भन्दैछ यति सडक बने, उति सकड कालोपत्रे भए। सरकारले सडक होईन मान्छे मार्ने मृत्युमार्ग निमार्ण गरिहरेको छ। नेपालको भूबनोटको अध्ययन गरेर सडक बनाउनु पर्छ कि पर्दैन? सीमा र सडकलाई चुनावी नारा बनाउँने, देश र जनताको बारेमा काम नगर्ने नेतालाई सबै पार्टीबाट बिदा गरौं। अनि देश बन्छ। नत्र यस्तै भइरहन्छ।’