काठमाडौँ। अतिरिक्त शुल्क उठाएको राजधानीको स्रोहखुट्टे स्थित पिपल्स डेन्टल कलेजमा अध्ययनरत विद्यार्थी अन्यायमा परेका छन्। उक्त कलेजमा अध्ययनरत विद्यार्थीहरूका अनुसार कलेजले नेपाल सरकारले तोकेको भन्दा तीनदेखि पाँच लाखसम्म बढी शुल्क उठाएको पाइएको छ।
विभिन्न शिर्षकमा कलेजले विद्यार्थीहरूसँग उक्त शुल्क उठाएको हो। मेडिकल शिक्षा क्षेत्रमा देखिएको विकृतिको अन्त्यका लागि आन्दोलन भईरहेको अवस्थामा पिपल्स कलेजले विद्यार्थीहरूलाई आफ्नो सूचना बाहिर नदिन दवाव दिइरहेको छ।
उक्त कलेजका बारेमा छानविन गर्न पुगेको हाल पर्यटनमन्त्रीसमेत रहेका योगेश भट्टराईको टोलीले कलेजले अवैध रूपमा शुल्क उठाएको कुरा पत्ता लगाउन सकेन। पीडित विद्यार्थीहरूको बीचमा नपुगेरै छानविन टोली फकिएका कारण उक्त कलेज कालोसूचिमा पर्नबाट जोगियो। त्यसै कारण विद्यार्थीहरूले विभिन्न शिर्षकमा तीनदेखि पाँच लाखसम्म बढी शुल्क तिर्न बाध्य बनेका छन्।
कलेजले आईटी, एचआरडी, कम्युनिटी, लाइबेरी, बेसिक साइन्सल्याव, डेन्टल मेट्रिरियल कस्ट, इसिए र इन्टनसिपलगायत शिर्षकमा बढी शुल्क उठाएको पाइएको छ। साथै कलेजले आइओएमले तोकेको परिक्षा शुल्कभन्दा विद्यार्थीहरूबाट २५ हजारसम्म बढी शुल्क उठाइरहेको छ। २५ सय रूपैयाँ परिक्षा शुल्क लिन पाउने आइओएमको व्यवस्थालाई नजरअन्दाज गर्दै कलेजले मनपरी रूपमा शुल्क उठाइरहेको छ।
कलेजमा अध्ययनरत विद्यार्थीहरूलाई भर्ना लिइसकेपछि कानून विपरित बढी शुल्क तिर्न बाध्यपार्ने सहमति गराएको भेटिएको छ। हालै विद्यार्थीबाट बढी शुल्क लिने मेडिकल सूचिमा पिपल्स कलेजको नाम नपर्नुमा छानविन समितिको मिलेमतो रहेको विद्यार्थीहरूको आरोप छ।
बढी शुल्क लिनेमा गण्डकी मेडिकल कलेज पोखरा, नोवेल मेडिकल कलेज, विराटनगर, लुम्बिनी मेडिकल कलेज पाल्पा, युनिभर्सल मेडिकल कलेज भैरहवा, नेसनल मेडिकल कलेज, विरगञ्ज, केएमसी मेडिकल कलेज काठमाडौं, नेपालगञ्ज मेडिकल कलेज बाँके, विराट मेडिकल कलेज विराटनगर, कलेज अफ मेडिकल साइन्स भरतपुर चितवन, मनिपाल मेडिकल कलेज पोखरा, किस्ट मेडिकल कलेज, ललितपुर, देवदह मेडिकल कलेज रुपन्देहीलगायत छन्। छानविन टोलीलाई नै प्रभावित पारेर मेडिकल माफियाहरूले विद्यार्थीहरूबाट चर्को शुल्क असुली रहेका छन्।
बाआमाको पसिनाले डा.बन्ने सपना देखेका विद्यार्थीहरू आज मेडिकल माफियाहरूको अत्याचारमा परेका छन्। विद्यार्थीले पटक पटक अवैध रुपमा उठाएको रकम फिर्ता माग्दासमेत कलेजले वास्ता गरेको छैन। विराटनगरमा रहेको र कालोसूचिमा परेको नोवेल मेडिकल कलेजका सञ्चालकसमेत रहेका डा. सुनिल शर्मा नै पिपल्स कलेजका सञ्चालक हुन्।