‘हामी नेपाल प्रेमी हौं, भारत र चीनको विरोधि होइनौं’



काठमाडौं। अनेरास्ववियूका केन्द्रीय संयोजक ऐन महरले छिमेकी देशको थिचोमिचो अन्त्य गर्ने अवसर प्राप्त भएको टिप्पणी गरेका छन्। सत्तारूढ दल नेकपाको भ्रातृ संगठन अनेरास्ववियूका संयोजक महरले वर्तमान सरकारको काँधमा गहन अभिभारा आएको बताए।

स्वतन्त्र विद्यार्थी यूनियन (आरआर) क्याम्पसद्वारा आयोजित ‘सीमा अतिक्रमणः विगत, वर्तमान र राष्ट्रिय सरोकार’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै महरले यस्तो बताएका हुन्।

स्ववियू सभापति तपेन्द्रजंग शाहीको अध्यक्षतामा आयोजित कार्यक्रममा संयोजक महरले आफू र आफ्नो संगठन अनेरास्ववियू राष्ट्रियताको पहरेदार भएको जिकिर गरे। उनले भने,‘हाम्रो संगठनको विगतदेखि वर्तमानसम्म हेर्नुहोस्, हामी देश र जनताको लागि निरन्तर लड्दै आएका छौं। यहाँ नेर भारतले आफ्नो नक्सामा नेपाली भूमि राख्दा अनेरास्ववियूले विरोध जनायो तर, चिनको बारेमा बोल्न सकेन भन्ने आजवा सुन्दैछु, र म भन्न चाहन्छु, हामी नेपाल प्रेमी हौं। हामी नेपाली हौं।’

उनले अगाडि भने,‘छिमेकी हामीभन्दा भूगोल, जनसंख्या र अन्य केही कुरामा ठूला होलान्, तर, हामी चीन र भारतलाई जसरी एउटा सार्वभौम देश भनेर सम्मान गर्छौं त्यसैगरी चीन र भारतले हाम्रो देशलाई समान व्यवहार गरोस् भन्ने चाहन्छौं।’

उनले भने,‘हामी चीन र भारतलाई आफ्नो स्थानमा बस्नको आग्रह गर्दछौं। हामी न त भारतको विरोधी हौं, न त चीनको। हामी त नेपाली हौं। हामी सार्वभौम देशका नागरिक हौं। पञ्चशिलताको सिद्धान्तलाई आधारमा हाम्रो देश चलाउन चाहन्छौं। सरकारले भारत र चीनसँग तत्काल वार्ता गरेर विवादित भूमिको बारेमा आधिकारिक धारणा सार्वजनिक गर्नुपर्छ। हाम्रो हाम्रो भूमि रक्षाका निम्ति बलिदान हुन तयार छौं। तर, कसैको थिचोमिचोमा सहँदैनौं।’

तस्बिरः मदन भण्डारी (स्ववियू सदस्य, आरआर)