‘देशभक्त सरकारले कालापानीबाट भारतीय सेना हटाएर छोड्छ’



काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानीमा रहेको भारतीय सेनालाई हटाएरै छोड्ने बताएका छन्। नेकपाको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको पहिलो बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।

नेपालको एक इन्च भूमि पनि मिच्न नदिने भन्दै कालापानीबाट भारतलाई सेना फिर्ता लैजान अनुरोध गरेका छन्। प्रधनमन्त्रीले सर्वपक्षिय बैठक र परराष्ट्रले जारी गरेको विज्ञप्ति बाहेक यसरी खुल्ला रूपमा सीमा विवादको बारेमा बोलका थिएनन्।

प्रमुख विपक्षी नेपाली कांग्रेसले कालापानीबारे प्रधानमन्त्री किन बोल्दैनन् ? भनेर प्रश्न गरिरहेका बेला प्रधानमन्त्री अ‍ोलीले भारतीय नक्सा सच्याउने मात्रै नभएर सेना फिर्ता गराएरै छोड्ने वचन दिएका छन्। उनले भने, ‘कतिपयले नक्सा सच्याउन भनेका छन्। तर, त्यो समाधान होइन,’ प्रधानमन्त्री ओलीले भने, ‘भूमि फिर्ता लिने कुरा हो। नक्सा त प्रेसमा छापे भइहाल्यो, हामी भूमि फिर्ता लिन्छौं।’

प्रधानमन्त्री ओलीले राष्ट्रियताको पक्षमा सबै दल र जनता एकजुट हुँदा सरकारलाई सजिलो भएको बताएका छन्। उनले भने, ‘यस नाममा केही उछृङ्खल गतिविधि देखिए। कतिपयले आफूलाई हिरो देखाउन, अतिरिक्त देशभक्ति देखाउने हिसाबले त्यस्ता गतिविधि गरेका छन्। यसले समाधान हुँदैन। अहिलेको सरकार नेपाली जनताको सरकार हो। देशभक्त सरकार हो। यो सरकारले एक इन्च भूमि पनि मिचिन दिदैन।’