काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रभावशाली नेता बामदेव गौतमले नेपालको विकास र सम्मृद्धिले आगामी ५ वर्षमा भारत र १० वर्षमा चीनलाई छुने बताएका छन्।
राष्ट्रिय युवासंघ नेपालको केन्द्रीय सदस्यहरुको सपथग्रहण कार्यक्रमलाई शनिबार राजधानीमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। पार्टीको प्रस्तावित उपाध्यक्षसमेत रहेका गौतमले छिमेकी देशको आर्थिक विकासलाई छुने गरि मुलुक विकासको गतिमा अघि बढेको जिकिर गरे।
उनले जनताको मतबाट समाजवाद निर्माण गरेर देखाउने पनि बताए। विगतमा बुद्ध र सगरमाथाको नाममा नाम कमाउने काम भएको उल्लेख गर्दै अब भने समाजवाद निर्माण गरेर नेपालले विश्वसामु नाम कमाउने दाबी उनको दावी छ।
उनले भने,‘हामीले समाजवाद निर्माण गरेर देखाउँछौ र संसारका सबैले नेपालमा आएर हेर्नेछन् कसरी समाजवाद निर्माण भयो भनेर । बुद्धको नाममा नाम कमाउने, सगरमाथाको नाममा नाम कमाउने काम जति भयो भयो तर अब समाजवाद निर्माण गरेर नाम कमाउने काम हामीले गर्नुपर्छ ।’
उनले मुलुकको विकास र रक्षा गर्ने जिम्मेवारी युवा शक्तिको काँधमा आएको भन्दै योगदानका लागि सधै तयार छु भन्ने भावना सबैमा जागृत हुनुपर्ने आवश्यकता औल्याए।