चन्द्रागिरी डाँडोबाट कैद गरिएका १० तस्बिर


काठमाडौँ। ‘पृथ्वीनारायण शाहले चन्द्रागिरी डाँडोमा बसेर नेपाल एकीकरणका लागि योजना बनाएका थिए’ भन्ने कुराबाट चन्द्रागिरी गाँडोलाई ऐतिहासिक महत्त्वका साथ लिन सकिन्छ। चन्द्रागिरीमा उनै पृथ्वीको शालिक औला ठडाएर विराजमान छ।

चन्द्रागिरीको डाँडोबाट काठमाडौं उपत्यकासँगै वरपरका हिमालहरू नियाल्न पाइन्छ। त्यतिमात्रै होईन, टेलिस्कोपको सहाराले सगरमाथासमेत देख्न सकिन्छ। अचेल चन्द्रागिरी आन्तरिक तथा बाह्य पर्यटकको रोजाईको केन्द्र बन्दै गएको छ।

अहिले चन्द्रागिरीमा कटेजमात्रै नभएर कंक्रिट भवनसमेत निर्माण गरिएका छन्। सञ्चालक चन्द्र ढकाल चन्द्रागिरीलाई विश्वमा चिनाउनको लागि आफू प्रयासरत रहेको बताउछन्।

वरिष्ठ फोटो पत्रकार मुकुन्द कालिकोटेका अनुसार चन्द्रागिरीलाई राजनीतिक र व्यक्तिगत लाभको थलो बनाउनबाट जोगाउनु पर्छ। उनले अगाडि भने, ‘नेपालको चार दिने भ्रमण सकेर स्वदेश फर्केका बंगलादेशी राष्ट्रपति मोहम्मद अब्दुल हमिदले चन्द्रागिरी भ्रमण गरेको भए अझैं नयाँ सन्देश प्रवाह हुनेथियो। उहाँको स्वास्थ्यले साथ नदिएपछि भ्रमण गर्नु सक्नु भएन। खैर यो ऐतिहासिक स्थल हो। मनोरम दृश्यले मनै लोभ्याउने स्थान हो। यसको गरिमा, ऐतिहासिक पक्षलाई जोगाउनु पहिलो कर्तव्य हो।’

थानकोट, महादेवस्थान, मातातीर्थ र चित्लाङ तथा फाखेल गरी मकवानपुरका दुई र काठमाडौं जिल्लाका तीन सिमानाको संगमस्थल चन्द्रागिरीको चुचुरोमा पुग्न केवलकारमार्फत ८-१० मिनेट समय लाग्छ। उक्त चन्द्रागिरीको चुचुरोलाई स्थानीय नेवा समुदायले गंगचुँ अर्थात् भालेको सिउर भन्ने गरेको पाइन्छ।

तस्बिरः मुकुन्द कालिकोटे