कास्की २ मा विद्या र खेमराज मध्ये को बलियो ?



पोखरा। स्व. रवीन्द्र अधिकारी र सिन्धुपाल्चोककी विद्या भट्टराई तत्कालीन नेकपा (एमाले) को विद्यार्थी संगठन अनेरास्ववियुको कार्यकर्ताका रूपमा करिव तीन दशकअघि भेटिएका थिए।

संगठनमा रवीन्द्र सिनियर थिए। दुवैले लामो समय अनेरास्ववियुको केन्द्रीय कमिटीमा रहेर उल्लेख्य योगदान दिने काम गरे। ०५५ सालमा बिवाह भएपछि रवीन्द्रलाई सजिलो होस् भनेर विद्या राजनीतिबाट क्रमशः निश्कृय भएको बताउछिन्।

अनेरास्ववियुको केन्द्रीय सचिवबाट बिदा भएपछि विद्याले घर व्यवहार धान्दै दुई छोरा विराज र स्वराजलाई हुर्काउने र आफ्नो प्राज्ञिक योग्यता बढाउनेमा व्यस्त जस्तै बनिन्। चुनावमा होमिनुपूर्व समाजशास्त्रमा एमफीलसम्मको अध्ययन गरेकी भट्टराईले रत्नराज्य लक्ष्मी क्याम्पसमा प्राध्यापन गरिन्।

हाल प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल अनेरास्ववियुको अध्यक्ष हुँदा केन्द्रीय कमिटीमा पुगेकी विद्या योगेश भट्टराई अध्यक्ष र रवीन्द्र अधिकारी कोषाध्यक्ष हुँदा महिला विभाग प्रमुख बनेकी थिइन्। उनी ०४९ सालको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा अनेरास्ववियुबाट पद्मकन्याको स्वविययु सभापतिकी प्रत्यासी थिइन्। उनीपछि ममता गिरी र रामकुमारी झाँक्री पद्मकन्याको स्ववियु सभापतिका उम्मेवार बनेका थिए।

प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकारबाट राजीनामा दिएका नेकपा केन्द्रीय सदस्य डा. राजन भट्टराईकी बहिनी हुन्, विद्या भट्टराई। ०५४ सालमा एमाले विभाजन हुँदा राजन एमालेतिर र विद्या मालेतिर लागे। रवीन्द्र पनि मालेमै थिए। त्यही समयमा उनीहरुको प्रेम विवाह भयो।

विद्या भट्टराई तत्कालीन एमालेका सबै नेता-कार्यकर्तामाझ परिचित छिन्। उनलाई पतिवियोगको कठिन क्षणमा सम्हालिन सबैले ढाडस दिइरहेका छन्। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले विद्याको पछाडि आफू र सिंगो पार्टी रहेको बताएका थिए। रवीन्द्रले तीन पटक चुनाव जितेको कास्की २ मा यसपालि कांग्रेसका पूराना नेता खेमराज पौडेल भट्टराईका प्रतिष्पर्धी छन्। तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको निधनलाई पोखरेली जनताले ठूलो क्षेतीका रूपमा लिएका थिए। आज विद्या पतिको शोकलाई शक्तिमा बदल्ने कोसिसमा छिन्।

कास्कीमा नेकपाले प्रमुख प्रतिष्पर्धि कांग्रेसका खेमराजलाई सहजै पराजित गर्ने अनेरास्ववियूका एक नेताले कर्णाली सन्देशलाई जानकारी दिए। उनले भने,‘नेकपाले तीन पटकसम्म विजयी हासिल गर्न सफल कास्कीमा यसपालि पनि सहज जित निकाल्ने छ।’ विद्याले सहानुभूति मतसमेत पाउने देखिन्छ। कास्कीमा कांग्रेस, साझा, समाजवादी पार्टीलगायतको उम्मेद्वारी परेको छ। सिंगो नेकपा र सरकार विद्याको पक्षमा लागेको अवस्था हेर्दा उनी सम्भावित विजयी उम्मेद्वार हुन्!

को हुन् खेमराज ?

नेपाली कांग्रेसले कास्की २ को उपनिर्वाचनका उम्मेदवार खेमराज पौडेल पार्टी सभापति शेरबहादुर देउवाकै समकालीन नेता हुन्। देउवाले नेपाली कांग्रेस विभाजन गरेर कांग्रेस प्रजातान्त्रिक गठन गरेपछि उक्त पार्टीको कास्की कमान्ड पौडेलले सम्हालेका थिए। २०१७ सालदेखि नै प्रजातन्त्रका लागि कटिबद्ध भएर निरन्तर लागेका पौडेल आधा शताब्दीभन्दा धेरै राजनीतिमा खटिए। तर ७६ वर्षे उमेरमा आइपुगेपछि मात्रै पहिलोपटक पार्टीले उनलाई आमचुनावको उम्मेदवार बनाएको हो।

शेरबहादुर देउवा प्रधानमन्त्री भएका बेला नै सुकुम्बासी आयोग कास्कीको अध्यक्ष हुनुबाहेक खेमराज पौडेलले सार्वजनिक लाभको पद र उम्मेदवारीको अवसर पाएनन्। पञ्चायतकालमा २० वर्ष शिक्षक हुँदासमेत प्रजातन्त्रका लागि लडेका उनी २०४२, ४६ र २०६२÷६३ मा गरी ३ पटक जेल परे। २०२६ सालमा पहिलोपटक कास्कीमा धीरबहाहदुर गुरुङको सभापतित्वमा नेपाली कांग्रेसको जिल्ला समिति गठन हुँदा खेमराज कार्यसमिति सदस्य थिए। २०४६ ताका तारानाथ रानाभाट जिल्ला कार्यसमिति सभापति हुँदा पौडेल उपसभापति थिए।

शिक्षक पृष्ठभूमिको भएकैले ‘खेमराज गुरु’बाट सम्बोधित हुने भद्र छविका पौडेलले सहानुभूतिका मतसमेत तान्न सक्ने कांग्रेसजन बताउँछन्। अन्तर्घातको कांग्रेसी रोगले उनलाई नसताउने विश्वास पनि उनीहरुको छ। पोखरा २२ पुम्दीभुम्दीका पौडेलले मंसिर १४ को चुनावमा आफैँलाई मतदान गर्न पाउने छैनन्। उनी मतदाता रहेको क्षेत्र कास्की ३ हो। उनी भन्छन्,‘पहिला त मेरो गाउँ पनि त्यही क्षेत्रमा थियो, अहिले ३ मा परेको छ तर मेरो कार्यक्षेत्र र मेरो राजनीतिक लगानी भएको क्षेत्र नम्बर २ हो।’

अध्ययनका सिलसिलामा वनारस पुगेका पौडेलले उतै नेता बिपी कोइराला, सुवर्ण शमशेर र शेरबहादुर देउवाको संगत गर्ने अवसर पाएका थिए। उक्त क्षेत्रमा युवा नेता रवीन्द्रले लगातार ३ पटकसम्म चुनाव जितेका थिए, त्यसलाई तोड्ने कडा चुनौती खेमराजलाई छ। २०७४ को चुनावमा तत्कालीन नेकपा एमालेका उम्मेदवार रवीन्द्रले कांग्रेसका देवराज चालिसेलाई ८ हजार ५ सय ४२ मतले पराजित गरेका थिए।