‘कर्मचारी सेवाअवधि बढाएर एक पुस्ता ‘प्यारालाईज्ड’ गरिँदै छ’



काठमाडौँ। अनेरास्ववियूका प्रभावशाली नेता रञ्जित तामाङले निजामती कर्मचारीको उमेर ५८ वर्ष कायम गर्नुपर्ने सुझाव दिएका छन्।संगठनका सहसंयोजक समेत रहेका तामाङले सामाजिक सञ्जालमा लेखेका छन्, ‘निजामती कर्मचारीको सेवा अवधि ५८ वर्षबाट ६० वर्ष बनाउने कुरा गलत छ। शैक्षिक बेरोजगारीको समस्या बेहोरिरहेको देशमा सेवाअवधि बढाएर पुस्ता नै प्यारालाईज्ड गरिदै छ, नयाँ युवा पुस्तालाई अवसर दिनुको सट्टासेवा अवधि बढाउने कुराले युवाहरूलाई निरास बनाएको छ।’

उनले अगाडि लेखेका छन्, ‘अर्को कुरा हाल कार्यरत निजामती कर्मचारीहरू मध्ये धेरै प्रविधिमैत्रै छैनन्। आजको २१औं शताब्दीमा बिज्ञान प्रविधिमैत्री कर्मचारी अनिवार्य छ, अर्को कुरा ६० वर्ष अबधि पूरा गरेको कर्मचारी भन्दा बिभिन्न विषयमा बिज्ञ, दक्ष, र सक्षम युवालाई भूमिका दिदाबढी परिणाम सम्भव हुन्छ। यसकारण निजामती कर्मचारिको सेवा अवधि बढाउने कुरा बेठिक छ, मन्त्री ज्यु।’

सङ्घीय निजामती सेवा ऐन लागू भएपछि नियुक्त हुने निजामती कर्मचारीको अनिवार्य अवकाशको उमेरहद अब ६० वर्ष हुने भएको छ। प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले उपसमितिको प्रतिवेदनमा सहमति गर्दै उमेरहद बढाएको हो। यसअघि अनिवार्य अवकाशको उमेरहद ५८ वर्ष थियो । समितिमा विधेयकको दफावार छलफल भने जारी छ।

हाल बहाल रहेका कर्मचारीको हकमा भने जन्ममितिका आधारमा क्रमश: अवकाशको उमेरहद कायम रहने गरी सहमति भएको छ। समिति सचिव सञ्जय दाहालका अनुसार अवकाशको उमेरहद, निवृत्तिभरणलगायतका व्यवस्थामा समितिले बिहीबार सहमति गरेको छ।

समितिले पारित गरेको प्रतिवेदन नै सदनबाट पारित भएमा नयाँ नियुक्त हुने कर्मचारीको अवकाशको उमेरहद ६० वर्ष र हालका कर्मचारीको हकमा जन्ममितिका आधारमा छ-छ महिना कार्यकाल लम्बिने छ। सहमतिअनुसार २०१८ साल जन्ममिति भई सेवामा रहेका कर्मचारीको सेवा अवधि ५८ वर्ष ६ महिना हुनेछ। यस्तै २०१९ साल जन्ममिति भएका कर्मचारीको हकमा ५९ वर्ष कायम हुने छ।