ठेकेदारको शासन कहिलेसम्म ?



काठमाडौँ। आज प्रकाशित विभिन्न राष्ट्रिय दैनिकले पूर्वाधार निर्माणमा ठेकेदारले गरेको ढिलाइका कारण जनतामा देखिएको आक्रोश र बंगलादेशका राष्ट्रपति भ्रमणको विषयमा रहेर आज सम्पादीय लेखेका छन्। त्यस्तै एम्बुलेन्स जस्तो पवित्र सेवालाई बद्नाम गरिएको भन्दै त्यसतर्फ राज्यको ध्यानाकर्षण गराइएको छ।

परोपकारको कारोबार हुने बद्नाम क्षेत्र एम्बुलेन्स सेवा भएको उल्लेख गर्दै आज नयाँ पत्रिकाले ‘पवित्र वस्तुको किनबेच’ शीर्षकमा सम्पादकीय लेखेको छ। सम्पादकीयमा भनिएको छ –नाफामुखी बजार व्यवस्थाले परोपकार र सेवाको कामलाई तुच्छ वैयक्तिक लाभमा रुपान्तरण गरिदिएको छ। चितवनमा हालै भएको एम्बुलेन्ससञ्चालकको भोजभत्तेरले यस्तै संकेत गरेको छ।

देशको पूर्वाधार निर्माणमा चलिरहेको ठेकेदारको अनियमितताका विषयमा कान्तिपुर दैनिकले सम्पादकीय देखेको छ। ‘ठेकेदारको शासन’ शीर्षकमा लेखिएको सम्पादकीयमा ठेकेदारको राजले जनता कति आजित भएका छन् भन्ने विषय पछिल्ला समयमा देखिँदै गएको उल्लेख गरेको छ। ठेकेदारसँग नीति निर्माता र राजनीतिज्ञको स्वार्थप्रेरित सम्बन्धको अन्त्य हुनुपर्ने सम्पादकीयमा जोड दिइएको छ।

त्यसैगरी नागरिक दैनिकले पनि सार्वजनिक निर्माणको ठेक्का लिएर समयमै पूरा नगर्नेप्रति राज्य संयन्त्रले कारबाही नगरेपछि जनतामा आक्रोश देखिन थालेको विषयलाई सम्पादकीय बनाएको छ। ‘ठेकेदारको ठेगाना’ शीर्षकमा लेखिएको सम्पादकीयमा भनिएको छ –१६ किलोमिटर सडकको निर्माण पूरा गर्न ६ वर्ष बित्दा पनि काम हुन नसक्नु आफैंमा लज्जास्पद हो। आफूले जिम्मा लिएको सडको निर्माण कार्य पूरा नगर्दा पनि नयाँ नयाँ ठेक्का पाइरहने क्षमता देखेर आश्चर्य मान्नुपर्ने हुन्छ।