कांग्रेसभित्रका अरिङ्गाललाई तह लगाउने महासचिव शाहीको चेतावनी



काठमाडौँ। नेपाल तरूणदलका महासचिव भुपेन्द्रजंग शाहीले नेकपा र आफ्नो मातृपार्टी कांग्रेसभित्रका अरिङ्गाललाई तह लगाउने चेतावनी दिएका छन्।

साथै उनले भ्रष्टाचार र अराजकताका विरूद्धमा उभिन युवाहरूलाई आग्रहसमेत गरेका छन्। महासचिव शाहीकै अध्यक्षमा संगठनको ६६औं स्थापना दिवसको अवसरमा राजधानीको सामाखुशी स्थितित स्काई पाटीप्यालेसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन्।

कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वअर्थमन्त्री रामशरण महत प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा महासचिव शाहीले भने, ‘पार्टीभित्रका अरिङगालदेखि नेकपाका अरिङगाललाई साइजमा ल्याउनको लागि तरूण दल सशक्त भएर लाग्छ। केही विवाद र केही मनमुटाव देखेर तरूणदल सकियो र भत्कियो भन्ने कसैले भ्रम पालेको छ भने त्यो गलत हो। तरूणदललाई बिर्सेर सरकारले भ्रष्टाचार र दुराचार गर्न खोज्यो भने, जनताका अधिकार कुण्ठित गर्ने प्रयास गर्यो भने त्यो त झन् भुल हुनेछ।’

उनले भने,‘म स्कुल ईकाइ सदस्यदेखि नेविसंघको केन्द्रीय उपाध्यक्ष हुँदै अहिले तरूण दलको महासचिव छु। आजका दिनसम्म आईपुग्दा राजतन्त्रका विरूद्ध, निरंकुशताका विरूद्धमा बोलियो, लडियो, डराइएन भने नेकपाको सरकार र हाम्रो पार्टीभित्रको व्यतिथिको अन्त्यका लागि बोल्न र स्वच्छ आलोचना गर्न कुनै गाह्रो छैन। कुनै डर छैन।’

उनले अगाडि भने, ‘हाम्रो संगठनको बारेमा केही भ्रमहरू छन्। अहिले तरूणदल मैले नेतृत्व गरिरहेको छु। यति मात्रै तरूणदल हो। त्यसैले पार्टी र संगठनभित्रका अराजकताका विरूद्धमा बोल्दा पार्टीले मलाई कारबाही गरे गरोस्। तर, लाखौ युवाहरूको भविष्य र चिन्तालाई म टुलुटुलु हेर्नसक्दिन।’

हिजोका दिनमा राजासँग जनताले खान र लाउन पाएका छैनन् भन्दा वीपिलाई जेलमा हालियो। सुर्वण, कृष्णप्रसाद, गिरिजा, सुशिल जस्ता महान नेताले निरंकुशताको अन्त्य गरे। म त्यहि पार्टीको कार्यकर्ता हुँ। म अन्यायको विरूद्धमा बोल्छु, बोल्छु, पार्टीभित्रको असहजता र अराजकताका विरूद्धमा बोल्दा पार्टीले मलाई कारबाही गर्छ भने पनि गरोस्। त्यसमा मेरो भन्नु केही छैन।’

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य डा.खेखर कोइराला, केन्दीय सदस्य एवं युवानेता गुरूराज घिमिरेलगायतले पार्टीलाई एकतावद्ध गर्न नसकेको भन्दै नेतृत्वको कडा विरोध गरेका छन्। उनीहरूले नेविसंघ र तरूणदलको नेृत्वको लागि सभापति देउवाले ५० कटेका मान्छे खोजिरहेको भन्दै यसका विरूद्धमा बोल्नुपर्ने अवस्था आएको स्पष्ट पारे।

तरूणदलको कार्यकाल सकिन केवल एकहप्ता समयबाँकि रहँदाको समयमा जम्मा चार जनामा सिमित छ। अध्यक्ष जितजंग बस्नेत र महासचिव शाहीले समानान्तर कार्यक्रम र संगठन चलाईरहेका छन्। आज पनि पार्टी सभापति शेरबहादुर देउवा खेमाले पार्टी कार्यालय सानेपामा स्थापना दिवस मनाएको छ।