कपिलवस्तुमा अनिश्चितकालिन कर्फ्यू



काठमाडौँ। लक्ष्मीपूजाको मूर्ति विसर्जन गर्ने विषयलाई लिएर हिन्दू र मुस्लिम समुदायबीच झडप भएपछि कपिलवस्तुको कृष्णनगरमा अनिश्चितकालिन कर्फ्यू लगाइएको छ।

स्थिति नियन्त्रणबाहिर जाने अवस्था देखिएपछि स्थानीय प्रहरी प्रशासनले अनिश्चितकालिन कर्फ्यूको आदेश जारी गरेको हो। प्रहरीका अनुसार अहिले केही राउण्ड हवाई फायरसमेत गरिएको छ। बुधबार साँझ कृष्णनगर नगरपालिकाका वडा नम्बर १,२ र ३ का १३ वटा लक्ष्मीका मूर्ति विसर्जन गर्ने कार्यक्रम थियो ।

साँझ साढे ६ बजे कृष्णनगर नगरपालिका–२ झण्डेनगरमा मूर्ति भएको गाडी स्थानीय मुस्लिम समुदायका व्याक्तिहरुले रोक्न खोजेका थिए। त्यही विषयमा विवाद हुँदा दुवै पक्षबीच ढुङ्गा हानाहानसमेत भएको थियो। बुधबार साँझ नै स्थिति नियन्त्रणमा लिनका लागि २० सेल आश्रुग्यास प्रहार गरिएको थियो।