पहिलो पटक सडकमा गणतन्त्रको नारा लगाउँने मान्छे म हुँः गुरूराज घिमिरे


‘तरूणदलको ६६औं स्थापना दिवसका अवसरमा कांग्रेस केन्द्रीय सदस्य गुरूराज घिमिरेले राखेको मन्तव्यको सम्पादित अंश’

तत्कालिन् समयमा गिरिजाबाबुले महारजगंजमा बोलाएर मलाई भन्नु भयो ‘अब राजालाई फाल्नुपर्ने जस्तो भयो। गणतन्त्रमा जानुपर्छ कि भन्ने सोचिरहेको छु। तिमी बोल्न सक्छौ भने एउटा कार्यक्रम राखेर बोल।’

त्यतिबेला म नेपाल विद्यार्थी संघको सभापति थिए। गिरिजाबाबुले गरेको आग्रहलाई स्वीकार गरेर किर्तिपुरमा कार्यक्रमको आयोजना गरियो। नेपालको इतिहासमा सडकमा आएर गणतन्त्रको नारा लगाउने संगठन नेविसंघ मात्रै हो। त्यसको सभापति म नै हुँ। तर, आज दुःखको कुरा गणतान्त्रीक व्यवस्थामा म आफै रमिते छु। त्यसैले आफ्नो बारेमा आफै बोल्नुपर्ने भएको छ। मेरो बारेमा कसैले बोल्दैन। पार्टीमा पार्टी बोल्दैन। नेताहरू बोल्दैनन्। मेरो समकक्षी झनै् बोल्दैनन्। मेरो बारेमा अरूले मेरोबारेमा नबोलेपछि म आफै बोल्न बाध्य भएको हुँ।

आज पार्टीमा विवाद उस्तै छ। तरूणदलमा विवाद उस्तै छ। तरूणदलको विवादबारे पार्टीको नेतृत्वलाई बारम्बार भनें। तर, मेरा कुराहरू सुनिएनन्। तरूणदलमा अध्यक्षले महासचिवलाई हटाउने व्यवस्था कहाँ छ ? महासचिवले अध्यक्षलाई हटाउने व्यवस्था कहाँ छ?

मैले अस्ति एउटा भेटघाट कार्यक्रममा अध्यक्ष जितजंग बस्नेतलाई भनेको थिए,‘पूर्वराजा ज्ञानेन्द्रले जस्तै तपाईले महासचिवलाई किन कारबाही गर्नुभयो ? तरूणदलको अध्यक्ष भएको नाताले विवाद मिलाउनुहोस्। साथै मैले पार्टीको नेतृत्वलाई पनि भने,‘सभापति ज्यु,(शेरबहादुर देउवा) र वरिष्ठ नेता ज्यु, (रामचन्द पौडेल) एक ठाउँमा उभिएर भातृ संगठनको विवाद मिलाउनुहोस्। तपाईहरू किन यति असफल बन्दै हुनुहुन्छ? तरूण अध्यक्ष बस्नेत र महासचिव शाहीलाई बोलाएर किन मिलाउन सक्नुहुन्न ?’

यसरी नै म बोल्छु। आफ्ना कुराहरू राख्छु। अनि मलाई पार्टी र नेतृत्वको विरोधिको रूपमा लिइन्छ। कसैले नबोलेको बेला किर्तिपुरको डाँडोबाट ‘निरंकुश ज्ञानेन्द्र राजगद्दी छोड’ भनेर विरोध गर्ने म जस्ता लोकतन्त्रका सिपाहीका लागि पार्टीभित्रको अराजकताका विरूद्धमा बोल्न के को डर? हाम्रो पार्टीमा निरंकुशता हाबी हुँदैछ। सामान्तवादको गन्ध आइरहेको छ। नेपालको इतिहासमा हुकुमी प्रथाकै कारण राणासाशन ढल्यो। हुकुमप्रमाङ्गीकै कारण राजतन्त्र ढल्यो। त्यसैले हाम्रो पार्टीभित्रको निरंकुशता हामीलाई स्वीकार्य छैन।

तरूणदलको स्थापनाको गर्दा वीपि कोइरालले किन तरूण दलको साटो युवा संघ वा अन्य केही नाम दिनु भएन ? आज तरूणदलको ६६औं स्थापना दिवसका दिनमा यो कुरा राख्नै पर्नेहुन्छ। यसको बारेमा छोटो कथा भन्दैछु। ‘महाभारतमा जब पाण्डवहरू बनवास जान्छन्। उनीहरूको १२ वर्षे बनवास सकिन्छ। अहिलेको विराटनगरमा विराट भन्ने राजा थिए। कैरवहरू पाण्डवहरूको १ वर्षे गुप्तवास बारेमा अनुसन्धान गर्न थाले। र विराट राजाको राज्यमा युद्धको घोषणा गरे। राजा विराटसँग असाध्यै धेरै गाइबस्तु थिए। जोसँग गाईबस्तु धेरै हुन्थे उही व्यक्ति सबैभन्दा बढी धनि मानिन्थ्यो। पाण्डवहरू गुप्तवास भंग गर्नु र गाइबस्तु लुट्नु उनीहरू उद्देश्य थियो। दुर्योधनलगायतले लडाईको घोषणा गरे। राजा विराट आत्तिए। युवराज उत्तरकुमारको नेतृत्वमा लडाइ सूरू भयो।

महाभारतको सुरुमा अर्जुन आत्तिए जस्तै कौरव सेना देखेर उत्तर कुमार आत्तिए। त्यहिबेला वृहनलल्ला बनेका अर्जुनले उत्तरकुमारलाई भने तिमी रथ अगाडि बढाउ म लड्छु। त्यसपछि अजुर्नले एक एक गर्दै सबैलाई परास्त गरे। जब लडाइको मैदान छोडेर कौरवहरू भागे अनि अर्जुनले भने, ‘उत्तरकुमार आजदेखी तिमी युवाबाट तरूण भयौ।’ युवा कायर हुनसक्छ। युवा लाक्षि हुनसक्छ। पलयानवादी हुनसक्छ। अवसरवादी हुनसक्छ। तर, तरूण सधैंभरी क्रान्तिकारी हुन्छ। केवल तरूण तरूण मात्रै हुन्छ। कम्यु्निष्टले युवा संघ राखे जस्तो वीपि कोइरालाले युवा संघ राख्नु भएन। तरूणदल राख्नु भयो।

२०१० सालमा स्थापना भएको तरूणदलको बारेमा पार्टी नेतृत्व गम्भीर हुनैपर्छ। वरिष्ठ नेता रामचन्द्र पौडेल दाइले चुप बस्न मिल्दैन। आज किन हो पौडेल दाइको मुख बन्द जस्तै छ। मुलुक हाक्ने नेताहरूले आफ्नो भातृ संगठनका बारेमा किन नबोल्ने ? किन विवाद मिलाउन नसक्ने ? यो त हाम्रो पार्टीभित्रको कुरा भयो।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सरकार छ। हरेक निर्वाचनमा पैसा प्रयोग गर्ने र चुनाव जित्ने रणनीतिमा नेकपा देखिएको छ। राज्यको सम्पूर्ण शक्ति आफ्नो हातमा लिएर अन्य पार्टीलाई कम्जोर पार्ने र आफू राज्यको ढुकुढी दोहन गर्नेमा नेकपा लागेको छ। म कहिलेकाही इरान, बर्मा र इन्डोनएशियाको आन्दोलन र इतिहासलाई सम्झिन्छु। १९७९ मा २५ सय वर्ष पूरानो राजतन्त्र इरानमा ढल्यो। बर्मामा उनो ढले। इन्डोनएशियामा सुकार्नोको सत्ता ढल्यो। हाम्रै नजिकैको सिक्किममा प्रजातान्त्रिक आन्दोलन भयो। सिक्किमबाट चोकियाल गए। तर, कहिपनि प्रजातन्त्र आएन। त्यहाँको सार्वभौम सत्ता र आफ्नो अधिकार रहेन। त्यहाँको स्वतन्त्रता र स्वाभिमान रहेन। सिक्किम त देशै रहेन।

हाम्रो देशमा पनि आन्दोलन भए। क्रान्ति भए। परिवर्तन पनि आयो । तर, त्यो परिर्वतन कसका लागि आयो ? आज सरकारले के गर्दैछ ? सरकारमा रहेका मानिसले के गर्दैछन्? रकारका गतिविधिलाई प्रतिपक्षी दलको नाताले कांग्रेसले हेरेको छ कि छैन? हाम्रो पार्टी कांग्रेसले भातृसंस्थालाई बलियो नबनाईकन सरकारका गैरकानूनी र गैरजिम्मेवार कामहरूको विरूद्धमा लड्न सकिन्छ र ?

जननायक वीपि कोइरालाले लोकतान्त्रिक देश भारत प्रवासमा बसेर नेपालमा प्रजातन्त्रको लागि आन्दोलन गर्ने प्रयास गर्नुभयो। भारतको नेपालका प्रति हेर्ने बर्कदृष्टि बुझेर नेपाल फर्किनु भयो। राजासँग मेरो घाटी जोडिएको छसम्म भन्नु भयो। वीपि त्यो बेला नेपाल नफर्केको भए आज नेपाल रहने थिएन। कांग्रेस यस्ता दुरदशी नेताको पार्टी हो। लोकतन्त्रका निम्ति एक थोपा रगत रहेसम्म लडिरहने सिपाई हुँ। पार्टीभित्रको कम्जोरीलाई उठाउन मलाई कुनै डर छैन।

पार्टीभित्रको विकृति, संगठनभित्रको विकृतिको अन्त्यका लागि म जहाँ र जुनसुकै स्थानमा बोल्न तयार छु। तरूणदल र नेविसंघलाई नयाँ उचाईमा पुर्याउने कार्यक्रम हामीसँग छन्। तरूणहरू तयार हुनुहोस्। हाम्रो पार्टीका नेताको दृष्टि नेकपामा केन्द्रित हुनुपर्छ। सिंहदरबारमा केन्द्रित हुनुपर्छ। तपाईहरूले धेरै पटक अवसको उपभोग गरिसक्नु भएको छ। अझँ पनि डा.महाथिर महमद जस्तो उमेरमा पार्टीको सभापति र प्रधानमन्त्री बन्नुहोला। बरू हामी पर घरको पिडीमा बसेर तपाईलाई शुभकामना दिउँला। हामीलाई पदको आश छैन्। पदको लोभ छैन।

तर, पार्टी नेतृत्वले एउटा कुराको ख्याल गर्नुपर्छ, निरंकुशताका विरूद्धमा बोल्ने हिम्मत हामीमा जुन थियो। त्यो आज पनि छ। भोलि पनि रहनेछ। बेथितिबाट पार्टीलाई बचाउन र संकटबाट देशलाई बचाउन सभापति र वरिष्ठ नेता गम्भीर बन्नुहोस्।

भिडियो हेर्नुहोस्