विमला चौधरी,
काठमाडौँ। नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष अब्दुल वाहिद मन्सुरी दुई दशकदेखि तिहारमा साथीको दिदीबहिनीसँग भाइटिका लगाइरहेका छन्।
मुस्लिम भए पनि मन्सुरीले हिन्दू पर्वहरूलाई मनाउँदै आएका छन्। पश्चिम नेपालको नेपालगञ्जमा हिन्दू र मुस्लिम समुदायका मानिसहरूले एकअर्काको चाडपर्वमा सम्मिलित भएर धार्मिक सद्भाव बलियो बनाएका छन्।
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष मोहमद सफिक बेहना भन्छन्स् ूहिन्दू समुदाय हाम्रो ईदमा रमाउनुहुन्छ। म उहाँको दसैँ र तिहार खुला हृदयले मनाउँछु।
धर्म फरक भएपनि नेपालगञ्जका हिन्दू र मुस्लिमले हरेक चाडपर्वमा शुभकामना साटासाट गरेर मनाउने गरेका छन्। मुस्लिमहरूको ईद पर्वमा हिन्दुहरू सहभागी हुन्छन् र केहीले त रोजा पनि बस्ने गरेका छन्। मुस्लिमहरूले दसैँमा टीका र जमरा ग्रहण गर्नुका साथै तिहारमा पनि भाइटिका लगाउँदै आएका छन्।
मुस्लिम सङ्घ बाँकेका अध्यक्ष समेत रहेका मन्सुरी भन्छन्, ‘प्रत्येक वर्ष साथीको घरमा गएर बुवाआमाको हातबाट टीका लगाएर आशीर्वाद लिन्छु र साना भाइबहिनीलाई टीका लगाएर दक्षिणा दिने गर्छु। तिहारमा भाइटिका लगाउँछु।
दसैँमा मासुका परिकार पनि खाने तर आफ्नो धर्म अनुसार हलाल गरेको मासु मात्रै खाने मन्सुरी बताउँछन्। कतिपय मुस्लिमहरूले हिन्दूहरूसँग विवाह गरेका कारण ससुरालीमा गएर दसैँ मनाउने गर्छन्।
एकअर्काको सहयोग
नेपालगञ्जमा मुस्लिमहरूले हिन्दूहरूको मठमन्दिर बनाउने काममा पनि सघाउँदै आएका छन्। मुस्लिमहरूको मोहर्रम पछि ताजिया विसर्जनका क्रममा हिन्दूहरूले विभिन्न चोकहरूमा पानी खुवाउने गर्छन्।
दसैँमा स्थापना गरिएको नवदुर्गाको मूर्ति विसर्जन गर्ने क्रममा पनि हिन्दूहरूलाई बाटोमा सर्वत र पानी खुवाएर सहयोग गर्दै आएको नेपालगञ्जका सलिम मुसलमान बताउँछन्।
मुसलमान भन्छन्, ‘शिवपार्वती मन्दिरको सदस्य पनि हुँ। दसैँ र तिहार हामी पनि धुमधामसँग मनाउँछौँ। मूर्ति निस्कनेबेला स्वयम् उभिएर सबैलाई मिठाईसँगै पानी खुवाएर मिलेर खुशी हुन्छौँ।’
बहुभाषिक र बहुसांस्कृतिक शहर
चाडपर्वमा अन्तर्घुलनसँगै नेपालगञ्जमा हुने साहित्यिक र सांस्कृतिक कार्यक्रम पनि बहुभाषिक र बहुसांस्कृतिक हुँदै आएको छ। यसले गर्दा नेपालगञ्ज धार्मिक र सामाजिक सद्भावमा नमुनाकै रूपमा रहेको समाजसेवी मोहमद सलिम हल्वाई बताउँछन्।
उनी भन्छन्स् नेपालगञ्ज शहरलाई अरु शहरहरूले पनि हेरिरहेका छन्। नेपालगञ्जमा हिन्दू, मुस्लिम, शिख वा ईसाइ जुनसुकै धर्म समुदायका भएपनि सद्भाव छ भनेर राम्रो सन्देश गइरहेको छ।
मुस्लिम चाडमा हिन्दू
मुस्लिम समुदायले दसैँ र तिहारलाई जसरी मनाउन थालेका छन् त्यसरी नै हिन्दूहरू मुस्लिमहरूको चाडपर्वमा सहभागी हुन्छन्। नेपालगञ्ज उपमहानगरपालिका ४ सल्यानीवागका प्रविणकुमार मिश्रा ब्राह्मण भएपनि मुस्लिम समुदायको चाडपर्वमा सहभागी हुँदै आएको बताउँछन्।
मिश्रा भन्छन्, म ब्राह्मणको छोरो भएपनि मेरा साथीहरू मुस्लिम छन्। उनीहरूसँग गएर हामी ईद मनाउँछौँ। नेपालगञ्जकी सोनी कनोजिया पनि मुस्लिमहरूको हरेक चाडपर्वमा सहभागी हुने बताउँछिन्। गएको ईदमा नेपालगञ्जका दुईजना हिन्दू महिलाहरूले रोजा समेत बसेका थिए।
मन्त्री पनि सहभागी
यस वर्षको तिहारमा नेपालगञ्जका युवाहरूले नेपालगञ्ज घर भएका सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईको घरबाटै देउसीभैलो खेल्न सुरु गरेका थिए। युवाहरूसँगै मन्त्री राईले समेत भैलो खेलेका थिए।
नेपालगञ्जमा सबै धर्मका धर्मगुरुहरूले पनि हरेक चाडपर्वमा शुभकामना आदानप्रदान गर्दै आएका छन्। छ वर्षअघि अन्तरधार्मिक सञ्जालु गठन भई सुरु भएको सद्भावको अभियानले अहिलेको परिणाम ल्याएको यहाँका धार्मिक अगुवाहरूको ठम्याइ छ। बीबीसी